काठमाडौ। आज चैत्र शुक्ल नवमी रामनवमी पर्व। आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरेर मनाउने कार्य भएको छ। आज आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व परेको छ। अर्थात आज एकैदिन चैते दशैं तथा रामनवमी एकसाथ परेको छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने श्री रामको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो।

कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लगनका योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।


प्रकाशन मिति–२०७४ साल चैत्र ११ गते आइतवार ।