काठमाडौं। आज बुधवार आदिवासी किराँत समुदायको उधौली तथा नेवार समुदायको योमरी पुन्ही पर्व तथा गुरुङ समुदायको नयाँ बर्ष तमु ल्होसार एकै दिनमा परेको छ। यस अवसरमा आ–आफ्नो संस्कृति तथा प्रचलन अनुसार मनाउने कार्य भैरहेको छ। मनाउँदै छन्।

हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायले अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ।

आज किराँत समुदायले खेतबारीमा पाकेको अन्न आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्छन्। यो पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम नामले मनाउने प्रचलन छ। किराँतभित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिन्छ।

त्यसैगरी नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै छन्। चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर आज साँझ यस वर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ। चिसो याममा योमरी खानु स्वास्थ्यको लागि पनि लाभदायक रहेको छ। धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो।

अर्कोतर्फ गुरुङ समुदायले नयाँ बर्षको रुपमा तमु ल्होसार पर्व मनाउने कार्य भैरहेको छ। यस अवसरमा एक आपसमा शुभकामना आदान–प्रदान गरेर नयाँ बर्ष मनाउने कार्य भैरहेको छ।
प्रकाशन मिति–२०७७ साल पुस १५ गते बुधवार ।