Janai Purnimaकाठमाडौ। आज विहीवार हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व परेको छ। यस पर्वमा जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ।

यस बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास छ। वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि ऊर्जा ल्याउन भन्दै यस दिन नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ। रसुवाको धार्मिक तथा पबित्र तीर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ।

Janai Purnima 1

भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस कुण्डमा स्नान गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास छ। मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजन गोसाईकुण्ड पुगेका छन्। भाद्र शुक्ल एकादशीदेखि शुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ।

मिथिलाञ्चल क्षेत्रमा भने भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र जनै पूर्णिमा धूमधामका साथ मनाइंदै छ। जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ। रक्षा बन्धनको अवसरमा दिदी बहिनीहरुले आफ्ना दाजुभाईलाई राखी बानी रक्षा बन्धन पर्व मनाइन्छ।

Raksha Bandhanप्रकाशन मिति–२०७३ साल भदौ २ गते विहीवार ।