काठमाडौं। आज मंसिरशीर्ष शुक्ल पूर्णिमा अर्थात योमरि पूर्णिमा तथा उधौली पर्व। नेवार समुदायले योमरि पूर्णिमा धुमधामका साथ योमरि बनाएर र त्यसलाई नयाँ धानको भकारीमा राखेर पूजाआजा गरेर मनाउने कार्य भैरहेको छ।

योमरि नेवार समुदायको अत्यन्त मिठो तथा लोकप्रिय खाना हो। जुन विश्वकै अलौकिक परिकारको रुपमा लिइने गरेको छ। योमरि परिकारवाट प्रभावित बनेर चीनियाहरुले ममको विकास गरेको भन्ने भनाई पनि छ। यद्यपि, योमरिको आफ्नै विशेषता रहेको छ। नयाँ धानको चामलवाट बनाइने योमरिमा चाकु, खुवा राखेर बनाइने गरिन्छ। हिजोआज मासु पनि राखेर बनाउने गरिएको छ।

योमरि पूर्णिमाको दिनमा नेवार समुदायको आदिवासी धर्तिपुत्र ज्यापु–महर्जन जातिले आदिवासी ज्यापु दिवसको रुपमा राष्ट्रिय ज्यापु दिवस मनाउने कार्य भैरहेको छ। ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जनका अनुसार, ज्यापु दिवसको झाँकी सहितको भव् तथा सभ्य र्याली काठमाडौंको वडा नंबर २१ स्थित माक गल्ली इनाखावाट विहान ११ बजेवाट शुरु भएर शहर परिक्रमा गर्नेछ।

त्यसपछि दिउंसो १ बजे बसन्तपुरमा भव्य सभामा समापन हुने कार्यक्रम छ। अर्कोतर्फ किराँत समुदायले उधौली पर्वको रुपमा भव्य रुपमा मनाउने कार्य भैरहेको छ। किराँत समुदायले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने गर्दछन् ।

Udhauli Parba-Sakela Dance

यसैगरी खस–आर्य समुदायमा मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसको पीठाबाट सेल, मालपुवा बनाएर चढाउने परम्परा छ ।
प्रकाशन मिति–२०७६ साल मंसिर २६ गते विहीवार ।