काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज आठौं दिन अर्थात महाअष्टमी पर्व मनाउने कार्य भएको छ। आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले नवदुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउने कार्य गरिन्छ। आज महाअष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन नवदुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई नवदुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।

आजको दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, टुंडालदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा भएको छ।

यसैगरी उपत्यका बाहिर नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने गरिन्छ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने चलन छ। यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो। देवीका शस्त्रास्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ। पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन्।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकोमा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक ८ गते शनिवार (महाअष्टमी)।