काठमाडौं। आज नेपालीहरुको महान पर्व बडा दशैँको छैटौं दिन । आज देशभरका बिभिन्न शक्तिपिठ तथा घरघरमा कात्यायिनी भगवतीको पूजा अर्चना गरेर मनाउने कार्य भएको छ। नवदुर्गा भवानीका नौवटा स्वरूपहरू मध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवती हो।

आजको दिन कात्यायिनी भगवतीको पूजा गर्नाले रोग, शोक, दुःख, दरिद्र जस्ता संकट नाश भएर जाने र मानिसहरु नयाँ बुद्धि विवेककासाथ प्रगतितिर अगाडि बढ्ने धार्मिक बिश्वास रहेको छ। हिन्दु धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ।

कत नामक एउटा ऋषि थिए। उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए। भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो। लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन्।

यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शाष्त्रिय मान्यता रहिआएको छ। माता कात्यायनीको वर्ण स्वर्ण समान चम्किलो तथा भास्वर छ। यिनी चतुर्भूज रूप धारिणी छिन्। दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ। दाहिने तिरको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ।

नवरथाको नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। आसुरी शक्तिमाथि दैवी शक्ति र असत्य माथि सत्यको विजयको प्रतीकका रुपमा बडा दशै मनाउने गरिन्छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक ६ गते विहीवार ।