काठमाडौं। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा परम्परागत रुपमा मनाउने कार्य भैरहेको छ। केही बर्षयता अमेरिका,बेलायत लगायतका मुलुकमा पनि यो पर्व मनाउने कार्य हुंदैआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। आज चौथो दिन इन्द्रजात्राका दिन काठमाडौंको बसन्तपुरमा नेपालको जीवित देवीको रुपमा मानिएको श्रीकुमारीको रथयात्रा प्रारम्भ हुने भएको छ।

अपरान्हतिर नेपालको राष्ट्रप्रमुखको प्रमुख आतिथ्यतामा जीवित देवी श्रीकुमारीको रथयात्रा हुने भएको हो। साथमा श्रीगणेश र श्रीभैरबको पनि रथयात्रा हुने छ। जीवित देवी श्रीकुमारीको रथयात्रा लगायत इन्द्रजात्राको लागि काठमाडौं महानगरपालिका हनुमानढोका दरवार संरक्षण कार्यक्रमले विशेष व्यवस्था गरिएको जानकारी संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलःले बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष आतिथ्यतामा कार्यक्रमको अगुवाई हुने कार्यक्रम रहेको छ। यो बर्ष काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा संचालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिलाई नगद १० लाख सहयोग अनुदान दिएको छ।

प्रकाशन मिति–२०७५ साल असोज ८ गते सोमवार ।