काठमाडौं। आज चैत्र २६ गते। विसं.२०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन ब्यवस्थाको अन्त्य भई देशमा बहुदलीय ब्यवस्था पुनर्स्थापना भएको दिन हो। आजको यो महत्वपूर्ण दिनलाई विर्सनै नहुने दिनका रुपमा लिइने गरेको छ। तर, देशको लागि ठूला ठूला गफ दिने नेता तथा पार्टीहरुले आजको दिनलाई बेवास्ता गरेको जस्तो प्रतित भएको छ।

नेपाली कांग्रेस र बामपन्थी पार्टीहरु सम्मिलित बाम मोर्चाले आह्वान गरेको संयुक्त आन्दोलन शिखरमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले विसं.२०४६ साल चैत २६ गते राती पञ्चायती ब्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए। सर्वोच्च नेता बीर गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेस र बाममोर्चाले २०४६ सालकै फागुन ७ गतेदेखि आन्दोलन शुरु गरेका थिए।

जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा सन्त नेता कृष्णप्रसाद भट्टराई, गिरिजिाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा रहेर जनआन्दोलनलाई अग्रता प्रदान गरेका थिए। देशैभर एकै पटक शुरु भएको जनआन्दोलनले चैत २४ गते उग्र रुप लिएको थियो। आन्दोलनकारीहरु काठमाडौंको दरबार मार्गमा हजारौंको संख्यामा भेला भएर नारायणहिटी राजदरबारतर्फ अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो संख्यामा हताहती भएको थियो।

आन्दोलनका क्रममा दुई दर्जन बढीको सहादत भएको थियो। आन्दोलनकै बीचमा दरबारले तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेको थियो। तैपनि आन्दोलन झन् चर्कने छाँट देखिएपछि राजा बीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राती बहुदलीय ब्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार बनेको थियो भने संविधान निर्माणका लागि संविधान सुझाव आयोग गठन गरिएको थियो।

सो आयोगले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रसहितको राजनीतिक प्रणाली रहने संविधान बनाएको थियो। जुन २०४७ कात्तिक २३ गते घोषणा गरिएको थियो। यसरी स्थापना भएको जनआन्दोलनवाट प्राप्त भएको बहुदलीय व्यवस्थामा जनआन्दोलनका सर्वोच्च नेता लौह पुरुष गणेशमान सिंहलाई तत्कालिन लोकप्रिय राजा बीरेन्द्रले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि आफू नबनिकन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए।

सतामोहको त्याग गरेर सारा जीवन जनताको लागि समर्पित गरेका लौह पुरुष जननेता बीर गणेशमान सिंहको आजको दिन गणेशमान सिंह फाउण्डेसनले मात्र सम्झना गरेको पाइयो। आज विहानै गणेशमान सिंह फाउण्डेसनले प्रभातफेरि गरेर गणेशमान सिंहको नेतृत्व र महत्वलाई संझना गर्ने कार्य भयो। जसको अगुवाई गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले गरेका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र २६ गते मंगलवार ।