काठमाडौं। देवादी देव महादेवलाई पूजाअर्चना गर्ने तथा उनको नामवाट ब्रत बस्ने महान पर्व आज शिवरात्री पर्व । आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री पर्व। आराध्यदेव भगवान् महादेवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्री मनाउने कार्य भएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्।

महादेव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख रहेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् महादेवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको हो भन्ने भनाइ छ । महाशिवरात्रीको अवसरमा अमरनाथको पनि शिर भगवान पशुपतिनाथको पावनधाम काठमाडौंको पशुपति क्षेत्रमा विहानैदेखि पशुपतिमा भक्तजनहरुको घुइँचो लागेको छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

यसैवीच, आज महाशिवरात्रीको दिन नेपाली सेनाको स्थापना दिवस भएको कारण काठमाडौंको टुंडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रमका क्रममा काठमाडौंको आकाशमा दुईवटा हेलिकोप्टरले आधा घण्टा भन्दा बढी चक्कर लगाएर प्रदर्शन गरेका छन्। नेपाली सेनाको झण्डावाल हेलिकोप्टर तथा नेपालको राष्ट्रिय झण्डावाल दुई हेलिकोप्टरले काठमाडौंको आकाशमा चक्कर लगाएका हुन।

प्रकाशन मिति–२०७७ साल फागुन २७ गते विहीवार ।