काठमाडौ। आज माघी अर्थात मकर सङ्क्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ। माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिने गरेको छ। तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ। माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ। आजै थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। त्यसैगरेर नेवार समुदायले आजको दिनलाई घ्यू–चाकु सन्हूको रुपमा मनाउने गरिन्छ।

प्रकाशन मिति–२०७४ साल माघ १ गते सोमवार ।