काठमाडौ। आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालमा आज नयाँ बर्षको रुपमा धुमधामकासाथ मनाउने गरिन्छ। सोही अनुरुप नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरेर नयाँ बर्ष मनाउने कार्य भैरहेको छ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता\असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो। राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् ।


प्रकाशन मिति–२०७५ साल बैशाख १ गते शनिवार ।