काठमाडौ। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ। अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ। यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ।

यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ। यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो। यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ।
शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ।

पौराणिक मान्यता अनुसार अक्षय तृतीया तिथिमै परशुरामका साथै नरनारायण तथा हयग्रीव आदि विष्णुको अवतार भएका थिए। त्यसैले यो दिन परशुराम एवं नरनारायण जयन्ती मनाइन्छ । त्रेतायुगाको सुरुवात पनि यसै तिथिमा भएको मानिन्छ। यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामंगलकारी हुने शास्त्रीय वचन छ।

अक्षय तृतीयाका दिन गरिएको दान तथा त्यसको फल कहिल्यै नाश हुँदैन । यो दिन गर्मी मौसमका लागि उपयोगी जौ, गहुँ, चना, सातु, दहीचामल, उखुको रस, दूधका परिकार, सोन, जलभरिएको घडा, पंखा, छाताजुत्ता, वस्त्र आदि कुराको दान गर्नु मंगलकारी हुन्छ।

यस दिन पितृको श्राद्ध तथा ब्राह्मण भोजन गराउँदा पनि अनन्त फल मिल्ने जनविश्वास पाइन्छ । ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मंगल कार्य गर्नु निकै शुभ मानिन्छ। यो दिन विवाह गर्दा कुनै पनि प्रकारको दोषले बाधा गर्दैन भनिएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ५ गते बुधवार ।