काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट मनाउने कार्यको फेरि प्रारम्भ भएको हो।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पुथ्वीनारायणको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ ।

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका पुथ्वीनारायणको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीहरुले सुझाएको छ।
कतिले आजको दिनलाई कालो दिनको रुपमा मनाउनु पर्ने भनिएको छ।

एकिकरणका नाममा कीर्तिपुरका स्थानीय वासिन्दालाई अनेक यातना दिएको विषयमा कीर्तिपुरमा कालो दिवसको रुपमा आजको दिनलाई लिइने गरेको छ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायणले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

पृथ्वीनारायणको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए ।

पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो।

यिनै इतिहासको संझनामा पुस २७ गतेलाई पृथ्वी जयन्तीको रुपमा मनाइने गरेको छ।
प्रकाशन मिति–२०७५ पुस २७ गते शुक्रवार ।