काठमाडौं। दुर्घटनामा पर्न लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संभावित दुर्घटनावाट बचेको छ। दुई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वीचको खासखुस अनि सल्लाह र राष्ट्रपति विद्यादेवी भण्डारीको रायले तालमेल मिलेपछि नेकपा टुक्रिनवाट बचेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकमा आत्मालोचना गरेपछि सवै कुरा ठीक लाइनमा आएको छ। गोटीको रुपमा देखिएका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याउने तय भएपछि यस विषयले पनि निकास पाएको छ। प्रतिस्पर्धीको रुपमा देखिएका बरिष्ठ नेता माधव कुमार नेपाल भने दुई पार्टी अध्यक्षको खासखुस मिलोमतोवाट असन्तुष्ट देखिएपनि बहुमतको अगाडि नेपाल मौन बस्न बाँध्य बने।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आत्मालोचना गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आत्मालोचना गरेका थिए। बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय भएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गरेको जानकारी दिए। अर्का अध्यक्ष दाहाल र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने निर्णय भएको छ।

बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ। पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै सहमत भएका छन्


प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।