काठमाडौं। नेपाल सरकारले आन्तरिक उडान खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो ।

आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ। यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ। बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ। सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ।

अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन्। काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ। दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ। काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको हो ।


प्रकाशन मिति–२०७८ साल असार ८ गते मंगलवार ।