काठमाडौं। भक्तपुरवाट नगरकोट जाने वाटोमा पर्ने चाँगुनारायण नगरपालिका वडा नंबर ६ र ७ मा पर्ने महादेव खोला मुहान पोखरीमा रम्नेहरुको हिजो आज निक्कै बृद्धि भैरहेको छ। आन्तरिक पर्यटनको लागि यो गजबको गन्तव्य हो।

काठमाडौंवाट एक घण्टाको दूरीमा रहेको यो स्थान प्राकृतिक रुपमा पनि उत्कृष्ट मानिन्छ। मल्लकालमा भक्तपुर नगर क्षेत्रलाई खानेपानीको जोहो गर्न बनाइएको कृत्रिम पोखरीको नाउँबाट उक्त क्षेत्र मुहान पोखरी बन्न पुगेको हो। भक्तपुरकै मुख्य जलाधार क्षेत्र रहेको नगरकोट, वागेश्वरी र सुडालको जंगल क्षेत्रबाट आएका विभिन्न ससाना खोल्सा मिलेर बनेको महादेव खोलाको फेदमा यो पोखरी बनाइएको छ।

वर्षामा उक्त पोखरी भरिएर आएको पानीबाट बन्ने झरनामा नुहाउन मुहान पोखरी पुग्नेको संख्या दैनिक बढिरहेको छ। पछिल्लो समय गर्मी बढेकाले मुहान पोखरी गएर नुहाउने तथा रमाइलो गर्नेको संख्या बढेको बढेयै छ।
विशेषत शनिवार तथा विदाको दिन यहाँ सर्वसाधारणको बढी नै चहलपहल देखिन्छ। जसले गर्दा मुहान पोखरी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सफल भएको छ।

प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।