काठमाडौ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ।

विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको त्यहांको समाचार संस्थाहरुले जनाएको छ। यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ।

आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए।

मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले ‘जिरो टलरेन्स’ नीति लागू गरेकोमा उनीहरुले विरोध जनाएका हुन्।जिरो टलरेन्स लागू भएको खण्डमा कारागारमा रहेका अभिभावकका सन्तानले अलग हुनुपर्ने पर्ने छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल असार १७ गते आइतवार ।