काठमाडौ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।

डा.केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै डा.केसीलाई पक्राउ गरेको हो।

राति ८ बजेतिर पक्राउ गरिएका डा.केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा.केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा न्यायालयको अवहेलना गरेको ठहर गर्दै डा.केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालाई प्रमुख माग बनाइ डा। केसीले सोमबार अपराह्न ४ बजेदेखि अनशन सुरु गरेका थिए।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी रवीन्द्र धानुकले डा.केसीको मानवअधिकारको सम्मान गर्दै हिरासतमा राखिएको र मंगलबार बिहान अदालतमा पेस गरिने बताए।

प्रकाशन मिति–२०७४ साल पुष २४ गते सोमवार ।