काठमाडौ। वैशाख कृष्ण औँशीका दिन मनाइने पर्व आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि रहेको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा पनि आजको दिनलाई लिइन्छ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । यस दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट मातातीर्थमा मेला लाग्ने गर्दछ।

आज बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुईंचो लागेको छ। आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन्। आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनी वर्णित छ। आमा सवैको सर्वप्रिय हो र आमाको पूजा नै महान पूजा हो।


प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।