काठमाडौं। सदावहार अभिनेत्री जोस्ना फुयाँलले शुक्रवार जन्म दिन मनाएकी छन्। त्यो पनि कही कुनै मठ–मन्दिरमा पूजापाठ तथा तारे होटलमा बर्थ–डे केक काटेर नभइकन असहाय–अनाथ बृद्धा आमाहरुका साथमा जन्म दिन मनाएकी हुन्।

काठमाडौंको कालिमाटी सोल्टीमोड स्थित रविभवनमा रहेको आमाघरमा आश्रित बृद्धा–आमाहरुलाई मिठो–मसिनो भोजन गराएर फरक ढंगवाट फरक सोचले अभिनेत्री फुयाँलले जन्म–दिन मनाएकी छन्। विगत तीन बर्षदेखि लगातार आमाघरमा गएर आफ्नो जन्मदिन मनाउने कार्य गर्दैआएको जानकारी अभिनेत्री फुयाँलले भिजन संसार डटकमलाई भनेकी छन्।

दृष्टिविहिन आमा देखि अशक्त आमाहरुलाई आश्रय दिएर अत्यन्त पुण्य कार्य गर्दैआएकी दिलशोभा आमाको आमाघरमा जन्मदिन मनाउन आउंदा अनौठो शान्ति मिल्ने गरेको अभिनेत्री फुयाँलले जानकारी दिएकी छन्।

सामाजिक रुपमा केही गर्ने सोच अनुरुप जन्मदिनलाई तडक–भडक नगरिकन सामाजिक रुपमा समाज–सेवा गरेर मनाउने सोचअनुरुप आमाघरमा पुगेर जन्मदिन मनाउन थालेको अभिनेत्री फुयाँलले भनेकी छन्।

प्रकाशन मिति–२०७६ साल पुस २५ गते शुक्रवार ।