काठमाडौं। दृष्टिविहिनहरुको लागि जग्गा लिजमा लिएरै जस्ताको घर–टहरा निर्माण भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल वडा नंबर १ स्थित नयाँपाटी बागमती फाँटनेर जस्ताको घर–टहरा निर्माण भएको हो।

बृद्धावस्था व्यवस्थापन तथा समाज कल्याण गुठी (आमाघर) को सहयोगमा दृष्टिविहिनहरुको लागि घर–टहरा निर्माण गरेर अस्थायी रुपमा भएतापनि बसोबासको व्यवस्था मिलाइएको छ। आमाघरकी आमा दिलशोभा आमाको पहल तथा अगुवाइमा निर्माण भएको आठवटा जस्ताको घर–टहराको आइतवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा हस्तान्तरण भएको छ।

हाललाई दृष्टिविहिन आठ परिवारका लागि आठ घर–टहरा निर्माण भएको जानकारी आमाघरकी आमा दिलशोभा श्रेष्ठले दिएकी छन्। चालिसवटा घर–टहरा निर्माण गरेर दृष्टिविहिन चालिस घर–परिवारलाई त्यहाँ बसोबास गराउने उदेश्य आफूले लिएको पनि दिलशोभा आमाले भनेकी छन्। त्यस पूण्यकार्यमा सवैको सहयोग र साथ हुने आशा–भरोसा अनि अपेक्षा पनि दिलशोभा आमाले गरेकी छन्।

दृष्टिविहिनहरुले रोडमा बसेर गीत गाएर मागेर बस्नुपर्ने कार्यको अन्त गर्ने तथा नयाँपाटीको घर–टहरावाटै उद्यमशीलताको विकास गर्ने र गराउने दिलशोभा आमाको लक्ष्य रहेको छ। डल्ले सावुन, झोल सावुन, हर्पिक बनाउने उद्यमको विकास दृष्टिविहिनहरुलाई दिन लगाएर उनीहरुलाई आत्मनिर्भर गराउने लक्ष्यनुरुप कार्यको पनि प्रारम्भ गरेकोे बताउंदै दिलशोभा आमाले कतिपय दृष्टिविहिनहरुलाई कुखुरापालनमा पनि उत्प्रेरणा दिएको पनि बताएकी छन्।

दिलशोभा आमाको यो सह्रानिय कार्यमा गोकर्णेश्वर नगरपालिकाले पनि सक्दो साथ दिने प्रतिवद्धता उपमेयर शान्ति नेपालले कार्यक्रममा व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल माघ २६ गते आइतवार ।