काठमाडौं। दुईपल्ट काठमाडौंको आलापोट गाविसको अध्यक्ष बनिसकेका बागमती प्रदेशका सांसद रामेश्वर फुयाँल प्रदेशको मन्त्री पनि बन्न सफल भएका छन्। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त बनेका छन्।

प्रदेश मन्त्री बनेको लगतै बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने भनेका छन्।

काठमाडौं जिल्ला क्षेत्र नम्बर–३ तथा प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य थिए। नेकपा वाग्मती प्रदेशका प्रमुख सचेतकसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन्।

विसं.२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल विसं.२०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए। विसं। २०६५ सालमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल विसं.२०४९ र २०५४ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष, विसं.२०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन ६ गते मंगलवार ।