काठमाडौंं। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको फेरि ध्यानाकर्षण भएको जनाइएको छ। नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाव्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराएको भन्दै फेरि ध्यानाकर्षण भएको जनाएको हो। चलचित्र कलाकारका समस्या र विवाद समाधानका लागि संघले पहल गर्दै आइरहेको पनि भनिएको छ।

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडा लगायतका विकृती विसंगती विरुद्ध आवाज उठाउन पाउनु पर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा मर्यादित तरिकाले त्यस्को आलोचना र प्रतिवाद गर्न पाइन्छ । तर आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय हुने भनिएको छ।

नेपाली चलचित्र नेपालीहरुको अपार माया सद्भाव र प्रेमले चलायमान रहेको कसैबाट लुकेको छैन । दर्शकहरुकै प्रेम सदाशयता र सद्भावले नेपाली चलचित्रका कलाकारहरु पनि लोकप्रियताको उपल्लो श्रेणीमा पुगेका छन् । दर्शकहरुले माया नगरे न चलचित्र क्षेत्र चलायमान हुन्छ, न कलाकारहरु नै लोकप्रिय हुन्छन् ।

कसैको अभिव्यक्ति कसैलाई चिक्त नबुझ्न पनि सक्छ । चित्त नबुझेको थाहा भएको अवस्थामा तत्कालै चलचित्रकर्मीले आफ्नो आशय प्रस्ट्याउँदै माफी माग्न पनि पछि हट्दैनन् र मागेका उदाहरण पनि प्रसस्तै छन् । जसले लोकप्रिय बनायो उसैलाई गाली गर्ने संस्कार चलचित्रकर्मीमा छैन। नेपालीहरुको संस्कार संस्कृतिलाई मध्यनजर राख्दै तत्काल उव्जिएका यस्ता विवाद र समस्यालाई विर्शिदिएर विवादको जड अन्त्य गरिदिनहुन नेपाल चलचित्र कलाकार संघले अपिल गरेको छ। साथै कलाकारहरुले पनि आपसी समझदारी र भाइचारा कायम राख्दै आचार संहिता भित्र रही आफ्नो स्वतन्त्रताको उपभोग गर्न पनि संघले अनुरोध गरेको छ।

कुनै कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परेमा तत्कालै आफ्नो मर्का पिडा आफुमाथि भएको दुव्र्यवहार बारे संघलाई जानकारी गराउने र सोही समयमा आवश्यक कानुनी उपचार लिएमा प्रभावकारी हुने भएकाले तत्काल आफ्नो पिडा, समस्या, मर्का, संघलाई जानकारी दिने र कानुनी उपचार लिने संघका सबै सदस्यहरुलाई पनि यसै बक्तव्य मार्फत अनुरोध गर्न संघले अनुरोध गरेको छ।

प्रकाशन मिति–२०७७ साल असार २७ गते शनिवार ।