जेरुसेलम। इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन्। अन्तरराष्ट्रिय समाचार माध्यम एएफपीका अनुसार, राष्ट्रपति रिभ्लीनले नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा निर्णय गर्न परामर्श गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

यसै हप्ता सम्पन्न निर्वाचनको परिणामपछि इजरायलमा नयाँ सरकार गठन गर्नुपर्ने भएको हो। राष्ट्रपति रिभ्लीनले संसदमा निर्वाचित दलहरुको बैठक आयोजना गरेका छन्। बैठकमा उनले नयाँ प्रधानमन्त्रीका लागि कसलाई सिफारिस गर्ने भनेर दलका नेताहरुलाई सोध्ने भएका छन् । त्यसपछि मात्रै उनले नयाँ सरकार गठनका लागि सिफारिस गर्ने भएका छन् ।

निर्वाचनको अन्तिम परिणाम अहिलेसम्म घोषणा भएको छैन्। तर इजरायली सञ्चार माध्यमहरुले विपक्षी नेता गान्जको सेन्ट्रीष्ट ब्ल्यु एण्ड ह्वाईटले संसदको ३३ सिटमा जित हासिल गरेको र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको जनाएका छन्।

कुल १२० सिटका लागि भएको निर्वाचनको मतगणना अहिलेसम्म ९७ प्रतिशत भइसकेको समाचारमा जनाइएको छ। अहिलेसम्मको मतगणना अनुसार सवैभन्दा धेरै सिट जितेको पार्टीका नेता गान्जले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अहिलेका प्रधानमन्त्री नेतान्याहूलाई आह्वान गरेका छन्।
प्रकाशन मिति–२०७६ साल असोज ३ गते शुक्रवार ।