काठमाडौं। आधुनिक कृषि प्रविधिको विकासका लागि ख्याति कमाएको मुलुक इजरायलसंग नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन संवन्धमा संझौता भएको छ। नेपालको सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा नेपाल र इजरायल वीच हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका हुन। इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने राजदूत डा.शाक्यको भनाई छ । ‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी हो,’ राजदूत शाक्यले भनिन्, ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ ।’
राजदूत डा.शाक्यले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको समेत भनेकी छन्।

राजदूत डा.शाक्यले राजदूतको जिम्मेवारी सम्हालेको करीब डेढ वर्षको छोटो अवधीमै यो सम्झौता गर्न सफल भएको भन्दै यसका लागि सहयोग गर्ने नेपाल सरकार, इजरायली सरकार र प्रत्यक्ष–परोक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छन्।

त्यसैगरी बुधबार नै नेपाल र ईजरायलबीच ‘ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएकोपनि राजदूत डा.शाक्यले जानकारी दिएकी छन्। सो सम्झौतामा पनि नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गावी अस्केनाजीको हस्ताक्षर रहेको छ।

योसँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने छ। दूतावासले कार्यान्वयन चरणमा गए लगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरु हुने पनि जानकारी दिएको छ । त्यसका लागि पनि छिट्टै सम्झौता हुने इजरायल स्थित नेपाली दूतावासले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल असोज १५ गते विहीवार ।