काठमाडौ। अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन्। गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ।

प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन्। इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ। प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन् भने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन् । जेरुसलममा अमेरिकी दूतावास सार्ने विवादास्पद निर्णयको प्यालेष्टायनले विरोध गर्दै आएको थियो।

इजरायल र गाजा सीमा क्षेत्रमा केही हप्तादेखि व्यापक विरोध प्रदर्शन भैरहेको थियो । प्रदर्शनको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ। प्यालेष्टाइनले अमेरिकी कदमलाई जेरुसलममाथि इजरायलको समर्थनको रुपमा हेरेको र जेरुसलमको पूर्वी क्षेत्रमाथि आफ्नो दाबी गर्देैै आएको छ। तर सो शहर कहिल्यै विभाजित हुन नदिने इजरायलको भनाई छ।

इजरायल र प्यालेस्टाइन दुबैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्। सन् १९६७ को मध्यपूर्व संघर्षको समयमा इजरायलले पूर्वी जेरुसलम कब्जा गरेको थियो । तर यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको थिएन। यता हिंसाकैबीच अमेरिकाले जेरुसलममा आफ्नो दूतावास सारेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ १ गते मंगलवार ।