काठमाडौं। नेपाल सरकारले कात्तिक २५ गते आइतवार गरेको निर्णयलाई सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्।

हरेक हप्ता गरिएको निर्णय सोही हप्ताको विहीवार गरिने निर्णय बमोजिम प्रवक्ता बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। सरकारको निर्णय अनुसार, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराईलाई नियुक्त गरेको छ। डा.भट्टराईको मर्यादा र सुविधा मन्त्रिसरह कायम गरिएको छ।

त्यस्तै इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत निरञ्जनकुमार थापालाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाई रिक्त पदमा परराष्ट्र मामिलामा दखल तथा परराष्ट्रविद डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरेको छ।

इजरायल तथा साइप्रसका लागि राजदूत सिफारिस भएकी डा.अञ्जान शाक्यले सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी हुन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा सम्हालिसकेकी डा.शाक्यले परराष्ट्र मामिलामा विशेष दखलता हासिल गरेकी छन्।

अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको लामो अनुभव समेत रहेकी डा.शाक्य नेपाल ओमेन चेम्बर्स अफ कमर्सको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने कार्य गरेकी छन्। लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील डा.शाक्यले ‘नेपाल चाइना रिलेशन, ‘नेपाल इण्डिया रिलेशनल’, नेपाल–जापान संवन्ध लगायतका आधा दर्जन पुस्तकको सम्पादन कार्य समेत गरिसकेकी छन्।

डा.शाक्यले पद्मकन्या कलेजमा विसं.२०५२ सालदेखि करीब एक दशक प्राध्यापन गर्ने कार्य पनि गरेको लामो अनुभव रहेको छ। चर्चित गायिका समेत रहेकी डा.शाक्यले डेढदशक अघि नेपाल टेलिभिजनको समाचार बाचिका समेत भएर कार्य गरिसकेकी छन्।

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोल लगायत दर्जनौ–दर्जन चर्चित गीतका गायिका समेत रहेकी डा.शाक्यले पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापन गर्ने कार्य पनि गर्दैआएकी छन्।

बैठकले मलेसियाका लागि आवासीय तथा इण्डोनेसिया र ब्रुनाइ दारुसलामका लागि गैरआवासीय राजदूतमा पूर्वराजदूत उदयराज पाण्डे, गणतन्त्र भारतका लागि आवासीय तथा अफगानिस्तान र भूटानका लागि गैरआवासीय राजदूतमा पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्य र संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई पनि सात दिनको म्याद दिई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय बैठकले गरेको छ। राष्ट्रिय खेलकूद परिषद्का सदस्यमा पीताम्बर तिमिल्सिना(काठमाडौँ),राजेश गुरुङ(कास्की) र इन्दिरा निरौला (ओखलढुङ्गा)लाई मनोनयन तथा प्रहरी अतिरिक्त महानिरीक्षकमा डा.दुर्गा थापालाई बढुवा नियुुक्ति गर्ने र नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २९ गते विहीवार ।