काठमाडौं। इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै इटालीमा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ। यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० नाघेको छ। संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ।

यसरी व्यापक बृद्धि भएपछि इटालीमा करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ। लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका ११ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राख्न लागिएको हो। अनिवार्य क्वारेन्टाइन आजबाट अप्रिल महिनाको शुरुसम्म रहनेछ।

कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्न लागिएको अधिकारीहरुले जनाएका छन्। मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको छ।

फुटबलका सबै प्रतियोगिता स्थगित गर्न लागिएको छ। कोरोना प्रकोपविरुद्ध लड्न अवकाश प्राप्त चिकित्सकहरुलाई समेत काममा फर्कन भनिएको छ। इटाली यूरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ। चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ हजार ५ सय पुगेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल फागुन २५ गते आइतवार ।