काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको कोरोनाभाइरस (कोभिड–१९) को महामारीपूर्ण संक्रमणको कारण यो बर्षको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकिन पुगेको छ। इन्द्रजात्राको इतिहासमा नै पहिलो पल्ट रोकिएको इन्द्रजात्रा रोकिएपनि क्षमापूजा भने हुने भएको छ।

गुठी संस्थान काठमाडौंका प्रमुख हरिप्रसाद सुवेदीले इन्द्रजात्रा रोकिएको कारण इन्द्रजात्रासँग सम्बन्धित तलेजु, श्रीभैरव, श्रीगणेश, श्रीकुमारीलगायत मन्दिरमा क्षमा पूजा गरिन लागेको वताएका छन्। इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको जीवित श्रीकुमारी, श्रीभैरव र श्रीगणेशको रथारोहण गरिने परम्परा छ। तर, यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ।

जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ। विगतका वर्षहरुमा जात्राको दिन तल्लो टोलमा कुमारीलाई यात्रा गराइन्थ्यो भने भोलिपल्ट माथिल्लो टोलमा यात्रा गराउने प्रचलन थियो। इन्द्रजात्रामा इन्द्रको ऐरावत हात्तिको प्रतिक पुलुकिसी, लाखे नाच लगायत विविध आकर्षण रहेतापनि यो बर्ष सवै स्थगित भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।