काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटी इनासको आयोजनामा छैठौं इनास अवार्ड सोमवार संपन्न भएको छ। काठमाडौं प्रज्ञाभवनमा आयोजित समारोहमा इनासले छैठौ इनास अवार्ड कार्यक्रम गरेको हो।

अवार्ड वितरण कार्यक्रममा यो बर्ष नेपाली चलचित्रकका गीत–संगीत क्षेत्रका युगिन व्यक्तित्व बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। नेपाली चलचित्रका गीत–संगीतको क्षेत्रमा अटुलनिय योगदान दिएर नेपाली चलचित्रको गीत–संगीतको श्रीबृद्धि गर्नमा अटुलनिय योगदान दिएवापत दीर्घ योगदान सम्मान अर्थात लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित गरिएको हो। जुन सम्मान नेपाली चलचित्रका वादशाह नीर शाहले प्रदान गरेका हुन्।

कार्यक्रममा विसं.२०७५ सालअवधिर प्रदर्शनमा आएका नेपाली चलचित्रहरु वीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट १२ विधामा इनास अवार्ड प्रदान गरिएको थियो। जसमा यो बर्षको सर्वोत्कृष्ट चलचित्र बुलबुल र सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि चलचित्र बुलबुलकै निर्देशक विनोद पौडेलले हात पारेका छन्। सर्वोत्कृष्ट नायिकाको अवार्ड बुलबुलकै स्वस्तिमा खड्काले जितेकी छन्। चलचित्र प्रसादका विपिन कार्कीले नायकको अवार्ड हात पारे।

त्यसैगरेर, चलचित्र प्रसादका सुशील पौडेलले बेस्ट स्क्रीप्ट राइटर अवार्ड, बेस्ट सिनेमाटोग्राफर छक्का–पञ्जा ३ वाट पुरुषोतम प्रधान, बेस्ट इडिटर साईलीका निमेष श्रेष्ठ, बेस्ट डान्स डाइरेक्टर भैरेवाट कविराज गहतराज, बेस्ट संगीतकार छक्का–पञ्जा ३ वाट दीपक शर्मा, बेस्ट गायक रोजवाट प्रतापदास र बेस्ट गायिका रोजवाटै प्रविशा अधिकारी बनेका छन्। क्रिटिक्स अवार्ड भने छक्का–पञ्जा ३ की दीपाश्री निरौलालाई प्रदान गरिएको थियो।

इनास ग्लोबलका नव–निर्वाचित अध्यक्ष कमला दाहालले कार्यक्रमको आवश्यकता र औचित्यका वारेमा प्रकाश पारेका थिए।


प्रकाशन मिति–२०७६ साल असोज २७ गते सोमवार ।