काठमाडौं। मानवता, भातृत्वता र आत्मस्वाभिमानको प्रतिकको खेल जुडोमा नेपाली खेलाडी धर्म कुमार श्रेष्ठको गौरबमय योगदान रहेको छ। जुडो खेलमा धर्म कुमार श्रेष्ठको २३ बर्ष लामो अथक योगदान रहदै आएको हो।

जुडो खेलप्रतिको अथक आकर्षण तथा व्यापक रुचिका कारण जुडोलाई मूलधारको खेलको रुपमा जुडो खेल जीवनमा जीवनलाई समर्पित गरेका धर्म कुमार श्रेष्ठले यस खेलमा अनेक उतारचढावको सामना गरेका छन्। उतारचढावका बाबजुद पनि जुडो खेलमा निरन्तरता दिदै अन्तरराष्ट्रिय स्तरसम्म नेपाली जुडो खेललाई पु-याउने कार्यमा धर्म कुमार श्रेष्ठको योगदान अविस्मरणीय नै रहेको छ।

तीन बर्षअघि हङकङमा आयोजित एशियन जुडो ओपन हङकङ–२०१७ अन्तर्गत भएको इन्टरनेशनल रेफ्री परीक्षामा धर्म कुमार श्रेष्ठ उत्तिर्ण बनेयता इन्टरनेशनल रेफ्री बनेका हुन्। हङकङमा भएको इन्टरनेशनल जुडो रेफ्री परीक्षामा देखाएको उत्कृष्ट भूमिकालाई त्यहाँका उच्च पदस्थ परीक्षकहरुले धर्म कुमार श्रेष्ठलाई सर्वोत्कृष्ट ठहर गरेका थिए। परीक्षामा उत्तिर्ण भएलगतै त्यहाँ श्रेष्ठलाई इन्टरनेशनल जुडो फेडरेसन रेफ्री उत्तिर्णको प्रमाण–पत्र प्रदान गरिएको थियो।

त्यस उप्रान्त नेपालको दोश्रो इन्टरनेशनल जुडो रेफ्रीको रुपमा देश–विदेशका जुडो टुर्नामेन्टहरुमा धर्म कुमार श्रेष्ठले सफलतापूर्वक काम गर्दैआएका छन्। काभ्रे तिमाल–४ का श्रेष्ठ अघि यसप्रकारको इन्टरनेशनल जुडो रेफ्रीको लाइसेन्स पाउने मनोज वहादुर केसी हुन्। इन्टरनेशनल जुडो रेफ्रीको अत्यन्त गौरबशाली लाइसेन्स होल्डर बनेर इन्टरनेशनल नेपाली रेफ्री बनेर काम गर्न पाउंदा श्रेष्ठले आफ्नो बर्षौको सपना पूरा भएको र आफूमा थप जिम्मेवारी काँधमा आइपुगेको बताएका छन्।

साउथ एशियन जुडो फेडरेशन र नेपाल जुडो संघका महासचिव तथा नेपाल डिफ एण्ड ब्लाइन्ड पारा जुडो एशोसियनका सिनियर भाइस प्रेसिडेन्ट समेत रहेका धर्म कुमार श्रेष्ठको स्वदेश तथा विदेशमा नेपाली जुडो खेलमा पु-याएको गौरबमय योगदानको ढिलैभएपनि यो बर्ष २०७७ सालमा राज्य र सरकारले पहिलो पल्ट कदर गरेको छ। सवै खेलहरुमध्येवाट सर्वोत्कृष्ट खेलाडीको रुपमा जुडो खेलका इन्टरनेशल रेफ्री श्रेष्ठलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा सम्मान सहित नगद एक लाखले पुरस्कृत गरेको हो।

इन्टरनेशनल नेपाली जुडो खेलाडी तथा रेफ्री श्रेष्ठ खेलाडी मात्र नभइकन सामाजिक अभियन्ता पनि हुन। लायन्स क्लब अफ काठमाडौं स्वनिगःका पूर्व प्रेसिडेन्ट समेत रहेका श्रेष्ठको समाज सेवामा पनि उच्च योगदान रहेको छ। विभिन्न सामाजिक सेवामा अग्रता दिने कार्य पनि हुंदैआएको छ। सडक बालबालिका तथा भूकम्प पीडित बालबालिकाहरुलाई जुडो खेलको माध्यमवाट सशक्तिकरण गर्ने लगायत मानव सेवा गर्ने कार्यमा पछि नपरेका श्रेष्ठको बहिरा तथा दृष्टिविहिन बालबालिकाहरुलाई पनि जुडो सिकाउने तथा उनीहरुको पहिलो तथा दोश्रो राष्ट्रिय पारा ओलम्पिक गेम सम्पन्न गर्न र गराउन विशेष योगदान रहेको छ।

विश्वको अग्लो शिखर सगरमाथाको फेदी ५ हजार २ सयम मिटरमा रहेको खुम्जुङ सगरमाथा रुटमा एभरेष्ट जुडो क्लव स्थापना गर्ने संस्थापक समेत हुन्। विश्वकै उच्च शिखरको फेदीमा एभरेष्ट जुडो क्लव स्थापना गरेर जुडो खेलको प्रशिक्षण दिने प्रशिक्षकका रुपमा पनि श्रेष्ठ चिनिएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय जुडोका कोच, थर्ड डन, दर्जनौ दर्जन इभेन्टका विजेता इन्टरनेशनल नेपाली रेफ्री श्रेष्ठका अनुसार, जुडो आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल हो।

यो मानवता, भातृत्वता र आत्मस्वाभिमानको प्रतिकको खेल हो। जसमा विशुद्ध बुध्दि र बलको सन्तुलन समायोजित खेल ’जुडो’मा दुई जापानी शब्द ’जु’ र ’डो’ मिलेर बनेको हो। ’जु’ अक्षरको अर्थ बिनम्र वा भद्र र ’डो’ अक्षरको अर्थ मार्ग वा पथ भन्ने बुझिन्छ। यसअर्थमा जुडोको शाब्दिक अर्थ बिनम्रमार्ग र अद्रपथ हो । जुडोले मानवता, भातृत्वता र आत्मस्वाभिनको समेत प्रतिनिधित्व गर्दछ ।

जुडो खेल सन् १८८२ मा प्रोफेसर जिगोरो कानोव्दारा सुत्रधार गरिएको हो । तसर्थ जुडो खेलको पिता स्व. प्रोफेसर जिगोरो कानो हुन् । जुडो खेलले शरीर सुडौल तथा आत्मविश्वासी बनाउन मदत गर्ने श्रेष्ठको जिकिर रहेको छ। यस खेलले मन शान्त बनाउने र कतिपय अवस्थामा आत्मरक्षाका निम्ति पनि सहयोग गर्ने श्रेष्ठले भनेका छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल माघ २ गते शुक्रवार ।