काठमाडौं। इन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा जीवित देवी कुमारीको अलावा पुलुकिसी र लाखे पनि हो। लाखे नाच भएन भने, इन्द्रजात्राको रौनकता नै हुंदैन्। यसलेगर्दा स्वदेश तथा विदेशमा जहाँ इन्द्रजात्रा मनाउंदा पनि लाखेको महत्व र आवश्यकतालाई दर्शाएको पाइन्छ।

इन्द्रजात्राको लाखेको बारेमा विभिन्न किंवदन्तीहरु पाइएतापनि लाखे इन्द्रजात्राको अर्को रौनक र गौरब हो। यिनै लाखेको घर काठमाडौंको चिकमुगल र जैसीदेवल वीचको मजिपातमा रहेको छ।

विशेषत मजिपातका रंजितहरु नै लाखे हुने परम्परा रहेको छ। विहीवार भने, मजिपातको लाखेघरवाट लाखे ननिकालिकन ज्यावहाल स्थित अमरदीप रंजितको घरवाट लाखे निकालिएको छ।

ज्यावहाल स्थित अमरदीप रंजितको घरमा विधिविधानपूर्वक १५ केजी भन्दा बढी तौलको लाखेको मुकुटको पूजाआराधना गरेपछि त्यस मुकुटलाई अमरदीप रंजितका पुत्र आर्यदीप रंजितले पहिरेपछि विहीवारका लागि लाखे आजु आर्यदीप बनेका हुन्। लाखे आजुको नाच खासै नसिकेको भिजन संसार डटकमसंगको संक्षिप्त कुराकानी गरेका आर्यदीप रंजित लाखे आजु बनेपछि एकाएक मज्जाले लाखे नाच्न थालेपछि सवैलाई चकित नै बनाइदिए।

लाखे आजुको सांगीतिक बाजाको धुन बज्न थालेपछि लाखे आजु बनेका आर्यदीप रंजितको अंग–अंगमा लाखे आजुको तरंग उत्पन्न भएको थियो। अनि उही लाखेको शैली र भावमा दगुरा दगुर गरेर मज्जाले नाचेपछि लाखे आजुको कमाल नै भयो। केही बर्षअगाडि मात्र लाखे आजु बनेर लाखे नाच नाचेका आर्यदीप रंजितको यो बर्ष लाखे हुनुको दोश्रो अनुभव हो।

उनका अनुसार, लाखेको मुकुट १५ केजीभन्दा बढी वजनदार भएतापनि त्यो लाखे मुकुट लगाएपछि त्यो वजन पनि हलुका नै अनुभव हुने गरेको दैविय शक्ति नै हुने गर्दछ। यसले गर्दा जतिसुकै जोश निकालेर नाचेपनि खासै गाह्रो नहुने उनको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल असोज ११ गते विहीवार ।