काठमाडौं। भोलि इन्द्रजात्रामा अन्तरराष्ट्रिय नगरका मेयरहरुको विशेष सहभागिता हुने भएको छ। त्यसका लागि विभिन्न देशका मेयरहरु काठमाडौंमा विहीवार आउने भएका छन्। जसको जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन्।

मेयर शाक्यका अनुसार अन्तरराष्ट्रिय मेयरहरुको इन्द्रजात्रामा सहभागी हुन लागेको यो पहिलो हो । पर्यटन वर्षको पूर्वसन्ध्यामा आउन लागेका यी पाहुनाबाट अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारसमेत हुने मेयर शाक्यको दावी रहेको छ। काठमाडौं महानगरको अमूर्त सम्पदाको अन्तरराष्ट्रिय क्षेत्रमा यस भ्रमणले व्यापक प्रचार हुने जिकिर पनि मेयर शाक्यको रहेको छ।

चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने काठमाडौं महानगरपालिकाले जनाएको छ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुने छ । इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ ।

उनीहरूले काठमाडौंमा ५ रात यहाँ बिताउने छन् । उनीहरूलाई यहाँ खाने, बस्ने, भ्रमण गर्नेलगायत व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने छ। ‘आउने जाने खर्चचाहिँ उहाँहरूले नै व्यहोर्नुहुने छ,’ मेयर शाक्यले भने, ‘यहाँको व्यवस्था मात्र हामीले गर्ने हो ।’ विदेशी मेयर लगायतका पाहुनाहरुलाई भक्तपुर, ललितपुर, चन्द्रागिरिलगायत भ्रमण गराउने योजना मेयर शाक्यले राखेका छन्।

‘काठमाडौं उपत्यकाको पर्यटन प्रवर्द्धनमा लाभ पुग्छ भनेर उपत्यकाका विभिन्न ठाउँमा घुमाउने योजना बनाएका हौं,’ शाक्यले भने, ‘उहाँहरूलाई गरिने खर्च महानगरको लगानी हो । यो लगानी पर्यटन प्रवर्द्धनका लागि हो । यो लगानीको लाभ उपत्यकावासीले पाउने छन् ।’
पाहुनालाई हनुमानढोका आसपासमा कुमारी रथयात्रा, तल्लो र माथिल्लो टोलको भ्रमणलगायतमा सहभागी गराइने महानगरको योजना छ । इन्द्रजात्रामा राष्ट्रप्रमुखले रथयात्रा अवलोकन गर्ने चलन छ । यो वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्ने कार्यक्रम छ ।

पाँच करोडको अक्षयकोष
सरकारले इन्द्रजात्रा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गर्ने भएको छ । जात्रा व्यवस्थापमा हुने सधैंको आर्थिक समस्या टार्नका लागि कोष स्थापना हुन लागेको हो ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषमा संघीय, प्रदेश र स्थानीय सरकार तथा गुठी संस्थानले रकम जम्मा गर्ने छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार संघीय सरकारबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रुपैयाँ गरी कोष हुने छ । ‘यसैको ब्याजले इन्द्रजात्रा मनाइने छ,’ मेयर शाक्यको भनाई छ।
प्रकाशन मिति–२०७६ साल भदौ २६ गते विहीवार ।