काठमाडौ। इमेल प्रकरणमा अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई क्लीन चीट मिलेको छ। अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो।

Hillari Clinton 1

क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट गरेको हो। अमेरिकी कांग्रेसलाई एक पत्र लेख्दै एफबीआईका निर्देशक जेम्स कूमीले ब्यूरोले आफ्नो काम सम्पन्न गरेको र ईमेलका त्यस्तो आपराधिक कुनै कुरा नभेटिएको जनाएका हुन्। यसै वर्षको जुलाईमा पनि ईमेल जाँचको प्रतिवेदन दिँदै एफबीआईले हिलारीले लापरवाही गरेको भएपनि अपराध भने नगरेको जनाएको थियो।

हिलारी क्लिन्टनको एक नजिकका सल्लाहकारको पतिको ल्यापटपमा विवादित ईमेल फेला परेपछि यो विषय फेरि दोस्रो पटक उछालिएको थियो। एफबीआईले निर्वाचनको ११ दिन पहिले फेरि ईमेल जाँच थालेपछि डेमोक्रेट शिविरमा ठूलै भुईचालो गएको थियो भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राहतको श्वास फेरेका थिए।

Hillari Clinton 2

त्यसयता ट्रम्पको चुनावी मुद्दा नै यही विषय बनेको थियो।अमेरिकामा भोलि मंगलबार नोभेम्बर ८ को विहानैदेखि नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ। निर्वाचनमा चार जना मैदानमा भएपनि चर्चा दुई नेता क्लिन्टन र ट्रम्पको मात्र देखिएको छ। एफबीआईले ईमेल प्रकरणमा फेरि हात हालेपछि क्लिन्टनको अवस्था खस्कँदै गएपनि मतदान पूर्व गरिएका सर्भेक्षणहरुमा एकदेखि तीन प्रतिशतको अग्रता देखाइएको छ। एफबीआईले सफाई दिएलगत्तै हिलारीको अवस्था केही सुदृढ हुनसक्ने आंकलन गरिएको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक २२ गते सोमवार । नेपाल संवत ११३७ कछला सप्तमी ।