काठमाडौ। नेपालमा विना सोचविचार हतारमा गरेको सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सामाजिक अभियन्ता भरत बस्नेतले जारी गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार सो आदेश जारी गरेको हो।

संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख भएको र यातायातसम्बन्धी ऐन–नियममा पनि नेपालीमै नम्बरप्लेट वितरण हुने व्यवस्था रहेको आदेशमा उल्लेख छ।

कारणदेखाऊ आदेश जारी गर्दै थप छलफलका लागि विपक्षीलाई झिकाउने पनि आदेशमा उल्लेख छ। अन्तरिम आदेशको पक्षमा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, तुलसी भट्ट, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन १० गते विहीवार ।