काठमाडौं। इरानमा शनिबार थप एकजना ‘कोरोना भाइरस’ संक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताएका छन्। इरानमा यसरी एक पछि अर्को गरेर कोरोना भाइरसको संक्रमणका कारण मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले चासो देखाएको छ। चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै विश्व स्वास्थ्य संगठनले चासो व्यक्त गरेको हो।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए। उनले चीन र अरु मुलुकले संक्रमण नियन्त्रण र रोकथाममा चालेका कदमबाट संक्रमण थप फैलिन रोकिने सम्भावना भने देखिएको भनेका छन्।

यता, इरानका स्वास्थ्य अधिकारीहरुले संक्रमण इरानका सबै शहरमा हुन सक्ने बताइसकेका छन्। इरानमा शिया मुश्लिमको बाहुल्य रहेको क्वाम शहर कोरोना संक्रमणको केन्द्र मानिएको छ। चीन बाहिर २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित र आठ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ। कोभिड–१९ नाम दिइएको भाइरसका कारण चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन १० गते शनिवार ।