क्यानडा। साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताए। उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई शरण दिन तत्काल स्वीकृति दिएको जानकारी दिए।

१८ वर्षीया अल–कुनन आफ्नो परिवारका साथ कुबेतको यात्रामा थिइन्। जहाँ उनले अस्ट्रेलिया जानका लागि विमान चढेकी थिइन्। अस्ट्रेलिया पुग्नका लागि बैंकक हुँदै जानुपर्ने भएपनि बैंकक विमानस्थलमा उनलाई केही अधिकारीहरुले रोक लगाएका थिए। त्यहाँबाट उनका परिवारको साथ फिर्ता गर्न खोजिएको थियो। तर उनी फर्कन चाहिनन् र बैंकककै एक होटलमा कोठा बन्द गरेर बसेकी थिइन्।

त्यहीँबाट उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै कहानी सार्वजनिक गरेकी थिइन् । त्यसपछि अन्तर्राष्ट्रिय रुपमा सञ्चारमाध्यमको ध्यान उनीप्रति खिचिएको थियो । त्यसपछि चर्चामा आएकी उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको थियो । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगले क्यानडाले गरेको फैसलाको स्वागत गरेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २८ गते शनिवार ।