काठमाडौं। तराई क्षेत्रको महान पर्व छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि संपन्न भएको छ। चारदिने छठ पर्व आज विहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि सकिएको हो। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन्।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ। कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ।

यस वर्ष अधिकांश छठघाट सजाइएको छैन । छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी शहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।