काठमाडौं। काठमाडौं उपत्यकामा रहेका दुई वटा महानगरपालिका काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहितको १८ वटा नगरपालिकाहरुको उपत्यका नगरपालिका फोरम काठमाडौंको पहिलो विस्तारित बैठक संपन्न भएको छ। १८ वटै नगरपालिकाका मेयर,उपमेयर तथा कार्यपालिका सदस्यहरुको सहभागिता ललितपुरको कुपण्डोल स्थित होटल हिमालयनमा पहिलो विस्तारित बैठक बसेको हो।

पहिलो विस्तारित बैठकले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन एवं हरियाली कायम गर्न नौं बुँदे प्रतिवद्धता जनाएको छ। ‘संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको, स्वच्छ र स्वस्थ वातावरण अपरिहार्य रहेको तथ्यलाई मनन गर्दै प्रदूषण नियन्त्रणका काम गर्ने प्रतिवद्धता जनाएको हो।

उपत्यका नगरपालिका फोरमका संयोजक तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वातावरणीय स्वच्छता हाम्रो प्रतिवद्धता हो भनेका छन्।। मेयर शाक्यले आफूहरुले गर्न सक्ने काम आफै तथा सामूहिक गर्ने सोच र चाहना अनुरुप उपत्यका नगरपालिका फोरम काठमाडौंको स्थापना भएको बताएका छन्।

मेयर शाक्यले प्रतिबद्धता सार्वजनिक गर्दै काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिका लागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियालीयुक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थल सहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानी विकास निर्माणका कार्य गर्दा समेत वातावरणमा प्रतिकूल असर नपुग्ने कुराको सुनिश्चितता गरिने जिकिर गरेका छन्।

गत भदौ २२ गते काठमाडौं उपत्यका नगरपालिकाका मेयर र उपमेयरको भेलाले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)को विकास निर्माण तथा शहरी व्यवस्थापनका साझा सवालमा एउटै कार्यक्रम तथा सोच निर्माण गर्न उद्देश्यले फोरम निर्माण गर्ने सोचलाई मूर्तरुप पाएको थियो ।

सोही बमोजिम आश्विन १९ गते बसेको बैठकले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको हो। फोरमको उपसंयोजकमा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल रहेकी छन्। सचिवमा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर जगुलु श्रेष्ठ छन्।

कार्यसमिति सदस्यहरुमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका मेयर धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल र टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोल, ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका मेयर सोमप्रसाद मिश्र रहेका छन् । उपत्यकाका सवै नगरपालिकाका मेयर र उपमेयरलाई फोरमका सदस्यका रुपमा राखिएको छ।

उपत्यका नगरपालिका फोरमका नौं बुद्धे प्रतिबद्धता यस्तो रहेको छ–
१–स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदूषणको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै जानेछौं।

२–स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ।

३–काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका÷नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्नेछौँ। वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदूषण घटाउन हाम्रो संस्थागत संरचनाहरु परिचालित हुनेछन्।

४–काठमाडौं उपत्यकाको वातावरण संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै वैज्ञानिक रुपमा वातावरण प्रतिकूलका हानीकारक प्रभाव तथा असरहरुलाई घटाउन एकीकृत रुपमा जनचेतना, अनुसन्धान, तथ्यांक् संकलन तथा विश्लेषण गरी वातावरणीय न्यायको निम्ति सहयोग, सहकार्य र साझेदारीका कार्यक्रमहरु गर्न सामूहिक रुपमा प्रतिबद्ध छौँ।

५–उपत्यकाको प्रदूषण घटाउन फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, वृक्षरोपण गरी हरियाली प्रबद्र्धन, पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको प्रवाहीकरणबाट पूर्णतः अलग गरी निर्मलीकरण गर्ने तथा प्रदूषणलाई बढावा दिने हानीकारक उद्योगधन्दा तथा पेशा व्यवसायलाई सुधार गर्दै जानेछौं।

६–विकास निर्माणका कार्यहरु गर्दा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने(नपार्ने तर्फ पर्याप्त सजकता अपनाउने छौँ।

७–सवारी साधनबाट निस्कने धुवाँ तथा धुलोलाई कम गर्न यातायातलाई दीगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ ऊर्जाको उपयोगका लागि अग्रसर हुनेछौँ।

८– वातावरणीय स्वच्छता र वातावरणीय न्याय कायम गर्न सरकार, समुदाय, व्यवसायी, उद्यमी, नागरिक समाज र अन्य सरोकारवालाहरुबीच आवश्यक सहकार्य-साझेदारीलाई प्रोत्साहित गर्नेछौँ।

९–स्वच्छ वातावरणका लागि आवश्यक कार्य गर्न परस्परमा छलफल, परामर्श, अन्तर्क्रिया जस्ता कार्यक्रमहरु हामीहरुबीच निरन्तर सञ्चालित हुनेछन् र काठमाडौं उपत्यकाको वातावरणमा अपेक्षाकृत स्वच्छता कायम हुनेछ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १३ गते मंगलवार ।