काठमाडौं। शनिवार संपन्न भएको उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ। ५२ स्थानका लागि हिजो शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको हो। ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा भएको उपनिर्वाचन मतपरिणाम आउने क्रम जारी छ।

स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अग्रपंक्तीमा देखिएको छ।

स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ। पछिल्लो मत परिणाम अनुसार २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निर्वाचित भएको छ। ५२ पदमा ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १५ गते आइतवार ।