काठमाडौं। निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ।

शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएका छन्। सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन भएको प्रमुख आयुक्त थपलियाको भनाई छ।

उपनिर्वाचनमा सबैभन्दा धेरै हुम्ला र रौतहटमा र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिमा मतदान भएको जनाइएको छ। उपनिर्वाचनमा विभिन्न चारओटा राष्ट्रिय पर्यवेक्षण संस्था, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत ४१९ जनाबाट पर्यवेक्षण र अवलोकन भएको थियो।

पर्यवेक्षक र अवलोकनकर्ताबाट उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको प्रमुख आयुक्त थपलियाको दावी रहेको छ। ३७ जिल्लाका रिक्त ५२ पदका लागि उपनिर्वाचन भएको हो।
प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार ।