काठमाडौं। नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नंबर ४ इकाई समितिको आयोजनामा संसद विघटन विरुद्धमा विशाल सभा गरेको छ। वडा नंबर ४ चण्डोल स्थित विशाल मिलन केन्द्रमा विशाल विरोध कार्यक्रम भएको हो।

आयोजक नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार विहीवार प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा ४ नंबर वडाका सभापति न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार ईश्वर पोखरेल भ्रष्ट भएकाले अब पनि उठन आउन सक्ने औल्याउदै जिम्मेवार भएर मतदान गर्न वडावासी नागरिकहरुलाई सचेत रहन खवरदारी गरेका छन् ।

सभापति न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताउंदै नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाएका छन्। सभापति न्यौपानेले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे। नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै सभापति न्यौपानेले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई आग्रह समेत गरे।

आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै सभापति न्यौपानेले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटा,नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइँ लगायतले जनताले बनाएको संविधान केपी शर्मा ओलीले लत्याएको आरोप लगाएका छन्।
प्रकाशन मिति–२०७७ साल माघ ८ गते विहीवार ।