काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ, नेपालले २३ औं वार्षिक उत्सव मनाएको छ। २३ औ बार्षिक उत्सव विशेष समारोह वीच शनिवार मनाएको हो।

२३ औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले तीन वर्षको चलचित्र पत्रकारीता सम्मान तथा पुरस्कार वितरण गरेको छ। शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा एक कार्यक्रम आयोजना गर्दै सम्मान तथा पुरस्कार वितरण गरिएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका हुन्। संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा सदावहार नायक भुवन केसी, महानायक राजेश हमाल, नायक रमेश उप्रेती, अभिनेत्री दीपाश्री निरौला, अभिनेता निर्मल शर्मालगायत चलचित्रकर्मीहरुको उपस्थिति थियो।

कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित गरिएको थियो। दिवाकर मैनाली र आरडी शृंखलाले ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्राप्त गरेका छन्।

त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिएको थियो भने कुमार आचार्य र गीता अधिकारीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरिएको थियो।

सोही वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो।
‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित गरिएको थियो भने निमेष गौतम र विष्णुप्रसाद सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरिएको थियो।

सोही वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फोटोग्राफर उद्धव रसाइली र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ मकवानपुरका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो।

चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशीसहित प्रदान गरिएको थियो भने प्रोत्साहन पुरस्कार एक थान ल्यापटप प्रदान गरिएको थियो।प्रकाशन मिति–२०७९ साल असार ५ गते आइतवार ।