काठमाडौं। नेपालीहरुको दशैं पछिको दोश्रो महान पर्व तिहार बुधवारवाट शुरु भएको छ। काग तिहारवाट शुरु हुने महान पर्व तिहार यो बर्षपनि तिथिको घटबढको कारण काग तिहार र कुकुर तिहार एकै दिनमा परेको हो।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व बुधवार बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाउने कार्य भएको छ। त्यस्तै बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रसम्मत् नियम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

बुधवार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि परेको र त्यसपछि चतुर्दशी तिथि लागेको कारण कागलाई मीठा खानेकुरा दिएर काग पूजा गरेको लगतै कुकुरलाई पूजा गरेर कुकुर तिहार मनाउने कार्य पनि भएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने दिनका रुपमा पनि काग तिहारलाई लिइने गरिएको हो।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने मङ्गलबारदेखि नै सुरु भएको छ। यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै शुरु भएको समितिले जनाएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर १ कागेश्वरी धाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गर्ने कार्य पनि भएको छ।

त्यस्तै, बुधवार नै कुकुर तिहार मनाउने कार्य भएको छ। कागजस्तै यमदूतको रुपमा कुकुरलाई पनि लिइने गरेको छ। घरको सुरक्षा प्रदान गर्ने गुणी प्राणीको रुपमा कुकुरलाई हरेक कुकुर तिहारमा कुकुरको पूजा गर्ने गरिन्छ।

चर्चित गायिका सविना कार्की तथा सामाजिक अभियन्ता दिनेश कार्कीका घरमा पालिएका कुकुरलाई सन्तानकै रुपमा पूज्ने गरेका छन्। गायिका सविना कार्कीले कुकुरलाई कान्छा सन्तानका रुपमा मान्ने गरेकी छन्।

त्यस्तै, नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलले घरमा पालिएका कुकुरलाई माइलो छोराका रुपमा लिने गरेका छन्। घर छाडेर जहाँ जता गएपनि कुकुरलाई आफूहरुसंगै लाने गायिका सविना कार्कीको जस्तै गायक सीताराम पोखरेलको पनि त्यस्तै बानी रहेको छ। दुवै गायक–गायिकाले कुकुरलाई अत्यन्त माया तथा स्नेह दिदैआएका छन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक १७ गते बुधवार ।