काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कहरमा ग्रीन जोन मानिएको काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएपछि दिनानुदिन विदेश तथा उपत्यका वाहिरवाट आउनेहरुको व्यापक बृद्धि भएयता कोरोना संक्रमितहरुको संख्या ज्यादै बृद्धि हुन थालेको छ।

आज सोमवार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। काठमाडौंमा २४, भक्तपुरमा १० र ललितपुरमा २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एकैदिन काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित बनेका छन्। काठमाडौं उपत्यकामा देखिएको यो संख्या सहित देशभर गरेर आज थप १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १ सय ८० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न ठाउँमा १ सय ८० थपिएको जानकारी दिएका छन्। केही दिन यता कोरोना संक्रमितको संख्या अरु क्षेत्रमा घट्दो क्रममा देखिए पनि उपत्यकामा भने संक्रमण बढ्न थालेको छ।

आइतवारमात्र काठमाडौंमा २७ जनामा कोरोना पोजेटीभ पुष्टि भयो। त्यस्तै ललितपुरमा दुई र भक्तपुरमा एक जनामा कोरोना देखियो। बिहीवार पनि काठमाडौंमा २८ जनामा कोरोना संक्रमण देखिएको थियो। उक्त दिन भक्तपुर र ललितपुर गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

देशभर संक्रमण फैलिन सुरु भएको दुई महिनासम्म काठमाडौंमा संक्रमितको सङ्ख्या एक अंकमा देखिएको थिए। तर, अहिले संक्रमितको सङ्ख्या दुई अंकमा देखिन थालेको छ। वाहिरवाट काठमाडौं उपत्यकामा आएकाहरुमा बढी देखिएको यो संक्रमण स्थानीय समुदायमा फैलिने पो हो कि भन्ने त्रास उत्पन्न भएको छ।
प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।