काठमाडौं। सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सातै प्रदेशमा सम्पन्न भएको छ। पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन भएको हो।

आइतवार आयोजित पत्रकार भेटघाटमा अभियानका बारेमा गीतकार डा.डीआर उपाध्याय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले विस्तृत जानकारी दिएका हुन्।

एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेको भनाई रहेको छ।

गत मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको उक्त अभियान पुस १० देखि १६ गतेसम्म पश्चिम नेपालमा चलाइएको थियो। आठ वटा उपन्यास प्रकाशित गरिसकेका साहित्यकार तथा गीतकार डी.आर उपाध्यायले सातवटा नेपाली गीति–एल्बम निकालेर नौलो रेकर्ड राखेका हुन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो। उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो। उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो।

प्रकाशन मिति–२०७५ साल पुस २३ गते सोमवार ।