काठमाडौं। एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परा नेपालका कतिपय हिमाली जिल्लाहरुमा अझै कायमै रहेका छन्। विशेष गरेर एउटै परिवारका एक भन्दा बढी दाजुभाइका एकै पत्नी हुने परम्परा रहेको छ। यसप्रकारको बहुपति प्रथाले परिवारको विखण्डन नहुने लगायतका मान्यता रहेको छ।

यही मान्यतावाट वनेको बहुपति प्रथाको यथार्थतामा निर्माण भएको नेपाली डकुमेन्ट्री फिल्म को–हजबेन्ड अर्थाता सहायक श्रीमानले रसियामा आयोजित फिल्म फेस्टिबलमा प्रथम पुरस्कार पाउन सफल भएको छ। कर्णाली प्रदेशको हुम्ला जिल्लामा लामा समुदायमा अझै कायम रहेको बहुपति प्रथामा निर्माण भएको को–हजबेन्डले रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फिल्म फेस्टिबलमा प्रथम पुरस्कार जितेको हो।

रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै को–हजबेन्डलाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे। विभिन्न देशका फिल्म प्रतिस्पर्धामा रहेको उक्त महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो। को–हजवेन्डका निर्देशक गणेश पाण्डे हुन।

‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘को–हजवेन्ड’ नयाँ डकुमेन्ट्री फिल्म हो। गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजवेन्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो। ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।