काठमाडौं। एक रुपैया शुल्कमा बसुन्धरा धलं अर्थात तिलाय् ब्रत संपन्न भएको छ। काठमाडौंको टोखा नगरपालिकाको वसुन्धारास्थित वसुन्धरा देवीको मन्दिरमा वसुन्धरा धलं (तिलाय् व्रत) मंलगवार भव्य रुपमा सम्पन्न भएको हो।

नेपाल सम्वत्को यंला (भदौ)को कृष्णपक्षको तृतीया तिथिमा गत केही बर्षदेखि स्थानीय कपिलमुनि स्थापितले एक रुपैया शुल्कमा यो ब्रतको आयोजना गर्दैआएको जानकारी शिक्षाविद निर्मल बज्राचार्यले बताएका छन् । भारी बर्षाको बावजुद २ सय जना व्रतमा सहभागी भएको जानकारी पनि शिक्षाविद बज्रचार्यको भनाई रहेको छ।

सबै महिला भक्तालुहरु वसुन्धरा देवीको मन पर्ने रंग पहेंलो वस्त्रमा सजिएका थिए । व्रतमा युवतीहरुको अझ बढी सहभागिता भएको पाइएको छ। कोरियोग्राफर कृपा वज्राचार्य लगायत अन्य युवतीहरु पनि बर्षातमा रुझ्दै व्रतमा सहभागी भएका थिए।

पूजाआजामा समर्पित समाजसेवी भक्तालु स्थापितले पूजामा सहभागीहरुलाई जम्मा एक रुपैंया शुल्क लिएका थिए। सोही शुल्कमा सम्पूर्ण पूजा सामग्री, मण्डप तथा जलपानको व्यवस्था भएको थियो।

व्रतको समापन पछि भक्तालुहरुलाई नुन नभएको परिकारहरु खुवाउने गरिन्छ। उक्त व्रतमा वज्राचार्य पुरोहितहरुले वसुन्धरादेवीको कथा पनि वाचन गरेका थिए।


प्रकाशन मिति–२०७६ साल भदौ ३१ गते मंगलवार ।