काठमाडौँ। नेपालमा अझैपनि डोल्पा, मनाङ लगायतका कतिपय स्थानमा एक पत्नीले धेरै पति यानी श्रीमान राख्ने प्रचलन रहेको छ। परापूर्वकालदेखि नै मातृसतात्मक प्रथा अन्तर्गत बहुपति प्रथाको यथार्थ कथा अव चलचित्रको पर्दामा पनि आउने पक्का भएको छ। यस विषयवस्तुमा चलचित्र टुल्की निर्माण भएको छ।

गत बैशाख १६ गतेवाट भएको लकडाउनको मौकालाई छोपेर द पाल्म ग्रुप विश्वविख्यात चलचित्र क्याराभान छायाँकन भएको डोल्पा पुगेर त्यहीको कथावस्तुमा चलचित्र “टुल्की” निर्माण गरेर इतिहास रचेका छन्। यिनै चलचित्र टुल्कीको बुधवार आयोजित कार्यक्रममा काठमाडौंको नयाँ बानेश्वर स्थित वान मल सिनेमा हलमा टिजर तथा फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

चलचित्र टुल्कीको डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको जानकारी निर्माता शेखर लामाले भिजन संसार डटकमलाई दिएका छन्।

“नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेँ,’ निर्माता लामाले भने । ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले थपे।

चलचित्रमा आर.पी.कर्माचार्य र शेखर लामाको लगानी रहेको छ। चलचित्रलाई विभिन्न फेस्टिभलमा सहभागी गराए पश्चात मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ। चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई उजागर गरिएको लामाको भनाइ छ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ। चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको स्वभाविक अभिनय रहेको छ।

चलचित्र यथावस्तुमा निर्माण भएको कारण कुनैपनि कलाकारको अनुहारमा मेकअप पोत्ने कार्य नभएको पनि निर्माण पक्षले भनेको छ। विना कलाकारको मेकअप निर्माण भएको संभवत पहिलो नेपाली चलचित्रको रुपमा टुल्की नै बन्न पुगेको छ।

प्रकाशन मिति–२०७८ साल भाद्र ३१ गते विहीवार ।