काठमाडौं। कोरोना संक्रमणको महामारीवाट बच्न र बचाउन काठमाडौं उपत्यकाका तीन शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आज विहीवार विहानैदेख लकडाउन अर्थात
निषेधाज्ञा लागू भएको छ। बुधवार मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा अरुबेला भन्दा बढी नै कडा गरिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने निस्कनेलाइै पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने वताइएको इमेज खवरले उल्लेख गरेको छ। उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिँदै गएकाले यसअघिको लकडाउनमा अपनाइएको सहजीकरणसमेत यसपाली भएको छैन्। कुनैप्रकारका सवारी पाससमेत जारी नगरिएको उपत्यकाका तीन शहरकै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। काठमाडौं उपत्यकामा दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शैयाको समेत अभाव हुन थालेपछि उपत्यकामा कोरोना संक्रमण महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले भनेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको वताएका छन्। आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको थियो । यो आदेश यही भदौ १० गते राति १२ बजेसम्म लागू हुनेछ ।

प्रकाशन मिति–२०७७ साल भाद्र ४ गते विहीवार ।